
पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले बताए ।
चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले साँझपख चाँडै चिसो बढ्न थालेपछी बजार सम्साँझै सुनसान हुन थालेको बताए ।
सर्वसाधारण चिसोबाट बच्न दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन समेत समस्या भएको चालक सरोज लामिछाने बताउँछन् ।
चिसोले जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।
चिसोसँगै दम, निमोनिया, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेको पूर्वाञ्चल विद्याविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ ।
बाक्लो हुस्सु लागेपछि जिल्ला सदरमुकाम विराटनगर आउने हवाई उडान खराब मौसमका कारण सेवा प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।
महाशाखाका अनुसार देशको विभिन्न भूभागका साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ ।