काठमाडौं, माघ १६ :

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक दर्ता गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् । यो विधेयकले फेसबुक, एक्सलगायत कुनै पनि सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा आउनुअघि नै नेपालसँग अनुमति लिनुपर्ने व्यवस्था विधेयकले गरेको छ ।

विधेयक संसद्‌बाट पारित भएर ऐनको रूप लिइसकेको ६ महिनाभित्र फेसबुकलगायत सामाजिक सञ्जालले सरकारको सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनुमति र सूचीकरण गर्नुपर्नेछ । अनुमति नलिए वा सरकारले सञ्चालन अनुमति नदिएका खण्डमा त्यस्ता सामाजिक सञ्जाल नेपालमा सञ्चालनमा रोक लगाउने व्यवस्था पनि छ ।

सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने, नियमन गर्न आवश्यक देखिएकोले विधेयक संसद्‌मा पेस भएको प्रस्तावनामा उल्लेख छ ।

साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राखिएको छ ।

साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्बिर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य-दृश्य, संकेत वा सन्देश पठाउने, पोस्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा उल्लेख छ ।

कसैको आईडी तथा सूचना ह्याक गर्न, फिसिङ वा इम्पोस्ट स्क्याम गर्न अश्लील मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्न पनि बन्देज गरिएको छ ।