
अछाममा गत शनिबार गोठालो गएका दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धानलाई तीव्रता दिइएको छ । त्यस घटनाको जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको छुट्टाछुट्टै टोलीले सूक्ष्म अनुसन्धान थालेको छ ।
शनिबार बाख्रा चराउन गएका ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको शव अछामको ढकारी गाउँपालिका- १ को छिन्ने जंगलमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) ईश्वरी भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि सहयोग लिइरहेको बताए ।
मृतक किशोरीहरूको शव भेरी प्रादेशीक अस्पतालमा परीक्षण गरिएको छ । तर रिपोर्ट आउन बाँकी रहेको बताईएको छ । उनीहरू शव आजै अछाम ल्याइने प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् । साथै पीडित परिवारले ढकारी गाउँपालिका १ र ३ का शंकास्पद ७ जनाको नाम उल्लेख गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।
अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद ढकारीकै दुई किशोरलाई नियन्त्रणमा लिएको छ। ती किशोरीसँग उनीहरूले भेटघाट गर्ने गरेको पाइएको छ।एकै परिवारका दुई किशोरीको रहस्यमय मृत्युले परिवार विक्षिप्त छ। गाउँ नै शोकमा डुबेको छ।