मुगु, साउन ३१ :

पहिरोले सडक बगाएपछि गमगढी-तारापानी-सोरुकोट सडक दुई सातादेखि अवरुद्ध भएको छ । सोरु गाउँपालिका-८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्। 

सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर जाने गरेका छन्।

त्यस स्थानमा ज्यानै जाने गरी जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिनुभयो । पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि समस्या भएको बताउनुभयो ।

पहिरो पन्छ्याउने र सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकारले सहयोग नगर्दा समस्या खेप्नुपरेको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।