
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांसदलाई निर्देशन दिएको हो।
प्रतिनिधिसभामा सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको बताए। उनले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार संसद्बाट पारित गरिने बताए ।
संसदलाई छलेर नभई संसद् सञ्चालनमा नरहेका बेला अध्यादेश ल्याइएको उल्लेख गर्दै बर्तौलाले यसमा सबैको समर्थन रहेको दाबी गरे ।बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको सहभागिता रहेको थियो। अध्यादेशको विषयलाई लिएर संसदमा सत्तापक्ष र प्रतिपक्षीबीच टकराव हुने अवस्था देखिएको छ ।