
सेना दिवस २०८१ को अवसरमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार, पोसाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ ।
जङ्गीअड्डामा मंगलबार आयोजित कार्यक्रममा प्रधानसेनापति महारथी अशोकराज सिग्देलले प्रदर्शनीको शुभारम्भ गरे । सोही अवसरमा प्रधानसेनापतिले नेपाली सेना फोटो प्रतियोगिता २०८१ का उत्कृष्ट ३ जना गैरसैनिक फोटोग्राफर, ३ वटा नेपाली सेनाका युनिट र एकजना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्यांकन समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गरे ।
कार्यक्रमपश्चात् प्रधानसेनापतिलगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए ।
प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायत गतिविधिहरू समेट्ने गरी कुल २९ स्टल राखिएका छन् ।
यही माघ १८ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा आमनागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष, बलाध्यक्ष, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्वनिर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।