
भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता दिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पुर्याइएका र बिना ज्याला जोखिमयुक्त तरिकाले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो ।
पछिल्लो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरतामा भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा ‘किन इन्डिया’को प्राविधिक सहयोग र सहकार्यमा बन्धक बनाइएका धनुषा जिल्लाका सात र सिरहाका २१ जना पीडितको उद्धार गरी जनकपुर ल्याइएको छ ।
मन्त्रालयका सचिव दिनेश भट्टराईले ल्याइएका २८ जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत परिवारसँग पुनर्मिलन गराइएको जानकारी दिनुभयो ।
मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार गरी संरक्षण कार्यलाई उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।