काठमाडौं, माघ १६ :

चितवनको राप्ती नगरपालिका ५, शिखरडाँडाबाट अवैध लागुऔषध गाँजा करिब ३ किलो ५ सय ८० ग्रामसहित ३ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका १२, च्यात्राङ बस्ने २४ वर्षीय ईमान तामाङ, २० वर्षीय जगत तामाङ र सोही नगरपालिका २ ड्राइभर टोल बस्ने ३८ वर्षीय तारा कँडेल छन् । इलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरीले डुम्रीखाडीबाट भण्डारातर्फ आउँदै गरेको बा.१८प १०४८ नम्बरको मोटरसाइकलमा चढेका ईमान र जगतलाई ३ किलो १ सय ३० ग्राम र पैदलयात्री तारालाई ४ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका १५, सुशन टोलबाट नियन्त्रित लागुऔषध स्पास्पेन २ हजार ८० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २८ वर्षीय विशाल श्रेष्ठसमेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।