
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आव ०८१/८२ को कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम गरिएको छ ।
प्रधान कार्यालय नक्सालमा मंगलबार भएको कार्यक्रममा कुँवरले अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन पनि गरे ।
कुँवरले प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आवमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको दाबी गरे । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनामा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उनको भनाइ छ ।
प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना तथ्यांकमा मात्र सीमित नभई परिणाममुखी बनाउनेतर्फ संवेदनशील हुनुपर्ने उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, हिरासत व्यवस्थापनलगायत कार्यमा अझ बढी क्रियाशील हुनुपर्नेमा जोड दिए ।
पेन्डिङ मुद्दा फर्स्योट एवं विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्यसम्पादन गर्न उनले निर्देशन दिए । प्रहरी संगठनको बृहत्तर हितका लागि थप सिर्जनशील हुनसमेत उनले प्रहरी कर्मचारीहरूलाई आग्रह गरे ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका पाँचवटै विभाग एवं अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरी अस्पतालका प्रमुख एवं प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौताअन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्यप्रगति विवरणलगायत विषय समेटिएका थिए ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवं प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति विवरण, प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणलगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थिति थियो ।