बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ : राष्ट्रपति पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ : राष्ट्रपति पौडेल
काठमाडौँ, माघ १७ :

राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । 
 
सहिद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन् । 
 
वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन हामी सबैले आ- आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।

“सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन दिने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात- अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।
 
सहिद दिवस देशका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । 

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, पञ्चायती व्यवस्था तथा राजतन्त्र विरूद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते यो दिवस मनाइँदै आइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार