
प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी बुधबार देशभर सहिद दिवस मनाइँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसैक्रममा प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा बुधबार प्रधानमन्त्रीले उहाँहरुको शालिकमा पुष्पहार अर्पण गरेका हुन् ।
यसैगरी, प्रधानमन्त्रीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना र महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका थिए ।
त्यसअघि प्रधानमन्त्रीसहित मन्त्रीमण्डका सदस्यहरुले सहिद गेटमा समेत सहिदरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा आजै सहिद दिवस विशेष समारोह आयोजना गरिनेछ ।विसं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले मृत्युदण्ड दिएको थियो ।