ललितपुर, माघ १७ :

नेपाली कांग्रेका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्टार्ट अप व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्न सके रोजगारीमा क्रान्ति ल्याउन सकिने बताएका छन् ।

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

साथै सभापति देउवाले कार्यक्रमले  नविन उत्पादन सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने र वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्ने पनि विश्वास व्यक्त गरे ।

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ युवा पुस्ताको आकर्षण बढ्दै गएको जनाउँदै  यस्ता उद्यम संचालन गर्न  सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य  हुने पनि  देउवाले बताए।

साथै उनले केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा कार्यक्रम फलदायी हुने बताए ।उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको जनाउँदै उनले यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता रहेको जनाउँदै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुऱ्याउने बताए  ।

‘पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ उनले भने,‘युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।’

उनले  मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु रहेको चर्चा गरे ।यही अवस्थालाई मध्यनजर गरि नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले कांग्रेसले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको सभापति देउवाले बताए ।

सानेपास्थित पार्टी कार्यालयमा बिहिबारसम्म चल्ने सम्मेलनमा ८० भन्दा बढी स्टल रहेका छन् । ६ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरू र युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको  विभागकी प्रमुख उर्मिला थपलियाले जानकारी दिइन् ।

हेरौं तस्बिरहरु :