काठमाडौं, माघ १७ :

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्री सहभागी भएका छन् । नेपाल-भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो ।

जनकपुरबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुको सुविधाका लागि खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर विष्णुदास महाराजजीले पनि नेपाली र भारतीय तीर्थयात्रीका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरिएको छ ।

नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा आफ्नो परिवारसहित महाकुम्भमा सहभागी भएका छन् ।


युथ क्लबका पूर्वअध्यक्ष मनीष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए ।

इन्जिनियर सुजित झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए ।

धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवर्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो ।