काठमाडाैं, माघ १७ :

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले कला संस्कृतिको धरोहरका रूपमा रहेको शङ्खरापुरको विकासमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

शङ्खरापुर सक्व महोत्सव–२०८१ को बुधबार उद्घाटन गर्दै मन्त्री ठकुरीले शङ्खरापुर भित्र रहेका कला संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्न प्रदेश सरकारका तर्फबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितले शङ्खरापुरको चिनारी संसारभर पु-याउन आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन तथा ओझेलमा रहेका विभिन्न मूर्त अमूर्त सम्पदालाई जिवन्तता दिन महोत्सव आयोजना गरिएको जानकारी दिए । 

महोत्सवमा सांस्कृतिक झाँकी, परम्परागत नेवारी जीवनशैली, ऐतिहासिक सम्पदाको जानकारी, रैथाने उत्पादन, धार्मिकस्थल, महत्वपूर्ण जात्रा, पर्वहरू, शङ्खरापुर सक्वको जानकारीका साथै नेवारी खानाका परिकार, नेवा भ्वय्, विभिन्न नाच, साहित्यक तथा शैक्षिक प्रदर्शनी, स्थानीय हस्तकला, मूर्तिकला, काष्टकला, चित्रकला एवं वैभवशाली फोटो प्रदर्शनीमा राखिएको छ ।

महोत्सवका संयोजक राधाकृष्ण श्रेष्ठले शङ्खरापुर सक्व महोत्सव –२०८१ ऐतिहासिक महोत्सव भएको बताए।साँखुको शालीनदी अवलोकन गर्न आउने पर्यटकलाई सक्व बजार भ्रमण गराउने परिकल्पनाका साथ महोत्सव आयोजना गरिएको उनको भनाइ छ । महोत्सव शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ