
खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको केपीलासगढी ३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका २८ वर्षीय छोरा पूजन गुरुङ र खोटाङकै दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका १२ की ४५ वर्षीया तारा गुरुङ रहेका छन् । बिरामी मायादेवीलाई लिएर उनका छोरा पूजन र बहिनी तारा काठमाडौं आउँदै थिए ।
सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको मानेभञ्जयाङ गाउँपालिका ७, भँडारे खोलामा सुमो दुर्घटना हुँदा तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।
ना.१ज ६४२१ नम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुर्घटना बुधबार राति भए पनि प्रहरीले बिहीबार (आज) बिहान मात्र थाहा पाएको थियो ।
सुमो चालक सुनसरीको इनरुवा नगरपालिका २ का २२ वर्षीय अनिल पण्डित फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।