काठमाण्डौं, साउन ३१ :

मंगलबार राति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । 

पहिरोले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुल समेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिनुभयो । 

पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आउनुभएको घर पहिराले बगाएको हो । उहाँकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । 

होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उहाँकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । 

साँझदेखि नै पानी पर्न सुरू भएको र राति करिब २ बजेपछि पहिराले दुई घर बगाएको बताईएको छ ।  घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या भएको छ ।