
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले भोलि (शुक्रबार) बाट सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रुपमा प्रवेश पाउने दाबी गरेका छन् ।
कांग्रेस स्याङ्जाको आयोजना र भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा पार्टीको एक सयदिने अभियानको समापनमा उनले सबैको अपनत्व हुनेगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताए । उनले भने, ‘यहीँ हिउदे अधिवेशनबाट संविधान संशोधनको प्रक्रिया सुरु हुन्छ ।’
कांग्रेस, एमाले, माओवादी, रास्वापा, राप्रपा, समाजवादी, मधेसवादी सबैको बीचमा सर्वदलीय समिति बनाएर प्रक्रिया अगाडि बढ्ने बताउँदै उनले संविधान संशोधन आजको आवश्यकता भएको हुँदा सबैको सहमतिमै संशोधनको प्रक्रिया अगाडि बढ्ने धारणा राखे । देशमा देखापरेका आर्थिक, संवैधानिक जटिलता अन्त्य गर्न दुई पार्टीको संयुक्त सरकार बनेको उनको भनाइ थियो । उनले यी दुई पार्टीलाई देशको समस्या समाधान नगर्ने छुट नभएको धारणा पनि राखे ।
ऋण लिएर घिउ खान नहुने प्रसंग जोड्दै उनले सधैं विदेशमा निर्भर हुने अर्थतन्त्र अन्त्य गर्नुपर्नेमा जोड दिए । विदेशबाट ल्याएको समानमा लगाउने करबाट उठेको रकमले देशमा सोचेजस्तो विकास गर्न नसकिने भन्दै उनले देशकै आन्तरिक अर्थतन्त्र बलियो बनाउन पनि यतिबेला सबै राजनीतिक दल एकठाउँमा आउनुपर्नेमा जोड दिए ।
उपसभापति गुरुङले कांग्रेसभित्रको एकता स्याङ्जाबाट सुरु गरिएको उद्घोष पनि गरे । पार्टीभित्रको गुटबन्दीले सीमित व्यक्तिले पद प्राप्त गरे पनि कांग्रेसको लक्ष्य प्राप्त नहुने उनको भनाइ थियो । उनले पार्टीको लक्ष्य प्राप्ति गर्न सबैले गुट त्याग्न आवश्यक रहेको पनि बताए ।