तनहुँ, माघ १९ :

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका १, सत्रसयमा आज (शुक्रबार) भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमिना सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा घाइते सापकोटालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा.५ख २९९९ नम्बरको बस सडकछेउको कल्भर्टमा पल्टिएको थियो । प्रहरीले बस चालक भानु नगरपालिका ५ बस्ने ३५ वर्षीय रवीन्द्र घलेलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा कैलाली जोशीपुरका २३ वर्षीया लक्ष्मी बनादी, धनगढी बसबरिया गाउँपालिका ५ बस्ने २२ वर्षीया अञ्जली शाही, तनहुँको म्याग्दे गाउँपालिका ७ बस्ने १९ वर्षीय किसान विक, व्यास नगरपालिका १२ बस्ने १९ वर्षीय सुनील विक, कास्कीको पोखरा महानगरपालिका ८ बस्ने २२ वर्षीया आयुषा पौडेल, गोरखाको सिरानचोक गाउँपालिका ४ बस्ने ५१ वर्षीय सुनील ढकाल घाइते भएका छन् ।

त्यसैगरी लमजुङको बेसीसहर नगरपालिका ३ बस्ने ४१ वर्षीय कृष्णबहादुर पाण्डे, तनहुँको व्यास नगरपालिका बस्ने १३ वर्षीया आस्था काफ्ले, गोरखाको सिरानचोक गाउँपालिका ४ बस्ने ४२ वर्षीय रामशरण कुँवर, सहिद लखन गाउँपालिका २ घर भई हाल बन्दीपुर गाउँपालिका १ बस्ने ५९ वर्षीय उज्ज्वल विक, भानु नगरपालिका १० बस्ने ५० वर्षीय खेमराज लौडारी र सोही ठाउँ बस्ने १७ वर्षीय प्रशान्त लौडारी घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । घटनामा घाइते भएकी आँबुखैरेनी गाउँपालिका ३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ ।