काठमाडौं, माघ २० :

दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा डुंगा डुब्दा तीनजना बेपत्ता भएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ९:२५ बजे चालक दलका सदस्यसहितको ३२ टन तथा २९ टन वजनको डुंगा टापु जेजुमा डुबेको हो ।

उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो ।

बाँकी तीनजना चालक दलका सदस्यहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ । -रासस