
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीति क्षेत्र देशको समग्र विकास गर्ने सशक्त माध्यम भएको बताएका छन् । विश्व निकेतन माध्यामिक विद्यालयको ७९औं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताए ।
उनले अरूको लहलहैमा लाग्नुभन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले सेवा गर्नका लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताए । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गरे । उनले विदेशमा ठुलाठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताए ।
‘राजनीति क्षेत्र देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो,’ उनले भने , ‘सेवाका लागि राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो ।’ उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मिहिनेतका साथ अध्ययन गर्नुपर्नेसमेत बताए ।
अनुशासन, शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रविधि, तथा समावेशी शिक्षामा विश्व निकेतनको योगदान अतुलनीय छ । विद्यालयका विद्यार्थीहरू प्रतियोगितात्मक शिक्षामा अब्बल, जीवनोपयोगी सीपमा सशक्त, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन् ।
विद्यालयले दशकौँदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौँ विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्दै आएको छ। अनुशासन, शैक्षिक उत्कृष्टता, आधुनिक शिक्षण प्रविधि, तथा समावेशी शिक्षामा विश्व निकेतनको योगदान अतुलनीय छ । विद्यालयका विद्यार्थीहरू प्रतियोगितात्मक शिक्षामा अब्बल, जीवनोपयोगी सीपमा सशक्त, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल रहेका छन् ।
कार्यक्रममा शिक्षक डिल्लीराम पौडेललगायत ६ जना शिक्षक/कर्मचारी एवं विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै विद्यालयको मुखपत्र विश्व उद्यानसमेत लोकार्पण गरिएको थियो ।