काठमाडाैं, माघ २० :

नेपाली भाषा साहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गरिने भएको छ।

यसैगरी चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत  शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ छन् । साथै कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको सम्वर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिने भएको छ ।  

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।