
डोल्पाको ठुलीभेरीबाट सालनाल अड्केर सिकिस्त अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।
यही माघ १८ गते आफ्नै घरमा सुत्केरी भई सालनाल ननिस्केर पाठेघरको मुख बन्द भई गम्भीर अवस्थामा पुगेकी विकलाई शनिबार उद्धार गरिएको हो ।
गम्भीर अवस्थामा शनिबार अस्पताल आएकी विकको अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल दुनैले रगत चढाएर अस्पतालको समन्वयमा राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरेको जिल्ला अस्पतालका चिकित्सा शाखाप्रमुख डा अखण्ड उपाध्यायले जानकारी दिए ।
ठूलीभेरी–१० रहगाउँ जिल्ला अस्पतालको नजिकको दूरीमा पर्ने गाउँ भए पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतनाको कमी हुँदा महिलाको अकालमा ज्यान जाने जोखिम रहेको उनले बताए।