ताप्लेजुङ, माघ २१ :

ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय राजनीतिक पार्टीहरुले गरेको बन्दका कारण आज पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले आज र भोलि अरुणपूर्वका नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आह्वान गरेको छ ।

बन्दका कारण कोशी पहाडका जिल्लाहरुमा सवारी साधन चलेका छैनन् । त्यस्तै, तमोर करीडोर ठप्प हुँदा धनकुटाको गढतिर क्षेत्र तथा ताप्लेजुङ, पाँचथरलगायतको स्थानमा सञ्चालन हुने सवारी साधन चल्न सकेको छैनन् । धरानबाटै सवारीसाधन नआएका कारण यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण समितिले केहि दिन अघिबाट मेची राजमार्ग तथा तमोर करिडोर बन्द गर्दै आएकोमा आइतबारबाट भने अरुण पूर्व बन्द गरिएको मुकुम्लुङ संघर्ष समितिले जनाएको छ ।