काठमाडौं, माघ २१ :

नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युतराज कलौनीको हत्या भएको हुनसक्ने पीडित परिवारका सदस्यले आशंका गरेका छन्। बुवा जनकराज कलौनीले आफ्नो छोरालाई कसैले हत्या गरेर फालेको हुनसक्ने आशंका व्यक्त गरे।

गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनले घटनाप्रति आशंका जनाउँदै  अन्तै  कतै मारेर यता ल्याएर फालेको हो कि भन्ने शंका गरेका हुन् ।

घटनापछि कञ्चनपुर पुगेका गृहमन्त्री लेखक समक्ष निष्पक्ष छानबिन गर्न माग गरिएको छ। छोराले प्रयोग गर्ने एउटा मोबाइल पनि नभेटिनुले आशंका उत्पन्न भएको बुवा जनकराजको भनाइ छ। प्रहरीले उक्त मोबाइलको खोजी थालेको छ।शव नजिकै उनको खाली ‘वालेट’ फेला परेको छ।

कांग्रेसका युवा नेता कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ स्थित सडकको पेटीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।

नेपाली कांग्रेस कञ्चनपुरले कलौनीको शंकास्पद मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ। विज्ञप्ती जारी गरी पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ।