
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक-२०२५ यही माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
क्यानले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने जानकारी दिए ।
उनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्य रहेको बताए । उनले क्यान इन्फोटेकको ३०औं संस्करण पाँच दिनसम्म चल्ने जानकारी दिए ।
मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने उनको भनाइ छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहनेछ । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको उनले बताए ।
‘यो वर्ष क्यान इन्फोटेक २०२५, २०८१ माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको छ । क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्नेछ,’ उनले भने ।
उनले सर्वसाधारणका लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको पनि जनाए । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्षमुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनमा आउने अवलोकनकर्ताहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।