भोजपुर, माघ २२ :

भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको छ । 

विद्यालयबीच एक रूपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक (ट्रयाक सुट) वितरण गरिएको हो । 

पौवादुङमा-  ५ सानोदुम्माका छवटा विद्यालयका चार सय ४४ विद्यार्थीलाई पोसाक वितरण गरिने छ । सानोदुम्मा माध्यमिक विद्यालयमा एक सय ७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोसाक वितरण गरिएको वडा कार्यालयले जनाएको छ । पोसाक आइसकेकाले माघ २३ गतेभित्र वडाका सबै विद्यालयमा वितरण गरिसक्ने वडाध्यक्ष बोमप्रसाद राईले बताए । 

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र वितरण भइसक्ने उनको भनाइ छ । वडाले चार लाख बजेट विनियोजन गरेर पोसाक वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए ।  

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले आवश्यकताको आधारमा काम अघि बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताए । सामुदायिक विद्यालय केन्द्रित यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्ने उनको भनाइ छ ।