
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व- पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।
यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्याउने गरी काम भइरहेको उनले बताए । पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।
पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए ।
अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी खनालले जानकारी दिए ।
दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका उनले बताए ।
दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारी साधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उनको भनाइ छ ।
सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेका छन् ।