
कञ्चनपुर, माघ २२ :
नेपाली कांग्रेसको भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको मृत्यु प्रकरणको थप अनुसन्धान फरेन्सिक परीक्षण रिपोर्ट आएपछि अगाडि बढाइने भएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान अगाडि बढाएको निष्कर्षमा पुग्नका लागि फरेन्सिक परीक्षणको रिपोर्ट कुरिरहेको बताए।
उनका अनुसार नेपालगन्जबाट आएको डाक्टरको प्राविधिक टोलीले कलौनीको फरेन्सिक परीक्षणको काम गरेको थियो। त्यसको रिपोर्ट भने आउन बाँकी छ।
कलौनी भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिक सडक पेटीमा शनिबार बिहान घोप्टो परेको अवस्थामा शव फेला परेको थियो। उनको श्रद्धाञ्जलीपछि महाकाली नदीमा अन्त्येष्टि गरिएको छ।