काठमाडौं, माघ २२ :

प्रधानमन्त्री केपी ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । उनले नेपालबाट गरिबी हटाएर मुलुकलाई समृद्धि बनाउनुपर्नेमा जोड दिए ।

काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गरे । नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान् पूर्खाहरुको देश भएको उल्लेख गर्दै उनले स्वाधीन र स्वाभिमानी देश भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाल एउटा समृद्ध देश हुनुपर्छ । तीनवटा कारण छन् । एउटा यो गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान् पूर्खाहरुको देश हो,’ ओलीले भने, ‘सधैं स्वाधीन र स्वाभिमानी देश हो । यस कारण यो समृद्ध हुनसक्छ । यसको भूगोल समृद्ध हुनसक्छ ।’

उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए । नेपालले तेल र फलाम खानीहरुको उत्खनन गरिहेको भन्दै कलंकका रुपमा रहेको गरिबीलाई छिटो हटाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘हिमाल, पहाड, तालतलैयाहरु सबै छन् । फाँटहरु छन्, उर्वरता छ । यो मरुभूमि देश होइन, यो उर्वर देश हो । हामी तेलको उत्खनन गर्दैछौँ । हामी फलामहरुको उत्खनन गर्दै छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी अनेक हिसाबले आत्मनिर्भर हुनसक्छौं । त्यसकारण यो देश समृद्ध हुनसक्छ । हामीसँग मिहिनेती, बहादुर, प्रसिद्ध युवा जनशक्ति छ । ४२ प्रतिशत युवा जनशक्ति अहिले पनि छ । नेपालले विकास गर्ने सम्भावना रहेको छ । अहिले २२ लाख करिब युवा विदेश गएर दुनियाँलाई विकास दिइरहेका छन् । आफ्नो देश विकास गर्न नसक्ने भन्ने होइन । अहिले पनि १ करोड युवा देशभित्रै छन् । एआईको जमानामा एउटा कलंकको रुमपा रहेको गरिबी छ, त्यसलाई सकेसम्म छोटो समयमा समाप्त पार्नुपर्छ । यस देशलाई समृद्ध नेपाल बनाउनुपर्छ, धनी जनता बनाउनुपर्छ । नेपाली जनतालाई सुखी बनाउनु पर्छ ।’

प्रधानमन्त्री ओलीले देश बनाउने आफ्नो सपना भनेको समृद्ध नेपाल, सुखी नेपाली रहेको दोहोर्‍याए ।