
प्रतीकात्मक तस्बिर ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका २, नागढुंगाबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका १ बस्ने २१ वर्षीय विपिन साउद र बर्दिया गेरुवा गाउँपालिका ३ बस्ने २५ वर्षीय रिहान साउद छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ख ६९४० नम्बरको बसबाट उनीहरुलाई सोमबार बिहान पक्राउ गरेको हो ।
यस्तै नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १२, पचगावाबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७ ग्राम २ सय ८० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देही बुटवल उपमहानगरपालिका ११, सिर्जनानगर बस्ने २३ वर्षीय सन्दीप मगरसहित दुई जनालाई सोमबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्रामसहित रूपन्देही तिलोत्तमा नगरपालिका ११, बुद्धनगर बस्ने २६ वर्षीय महेश पुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पुनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका ९, भीमानबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ९ ग्राम ७ सय मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका १० बस्ने ४४ वर्षीय लीलाबहादुर खड्की र सिराहा मिर्चैया नगरपालिका ६ बस्ने २५ वर्षीय अजयकुमार साह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भीमानबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ख ३५८ नम्बरको हाइसमा चढेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।