काठमाडौं, माघ २२ :

सरकार र ‘नो केबुलकार’पक्षबीच वार्ता सुरु भएको छ । ताप्लेजुङमा केबुलकार निर्माणलाई लिएर उत्पन्न विवादपछि गठित सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच पहिलो पटक वार्ता भएको हो ।

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले सोमबारबाट काम सुरु गरेको हो ।

यसै क्रममा वार्ता टोलीले सोमबार सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ ।  ‘काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ, सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले बताए ।

गृह मन्त्रालयले शनिबार सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधिसमेत रहेका छन् ।

गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुम्लुङ (पाथीभरा) संरक्षक संस्था र राजनीतिक दलसम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो ।

आन्दोलनरत पक्षले सोमबार एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शङ्कर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । 

कुपन्डोलस्थित होटल हिमालय दुवै पक्षबीच पहिलो चरणको वार्ता भएको  सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताएका छन् । यसअघि ‘नो केबुलकार’ले कर्मचारीको नेतृत्वमा गठित वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसक्ने भन्दै अस्वीकार गरेको थियो ।