काठमाण्डौं, माघ २३ :

प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुभारम्भ भएको छ ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गर्नुभएको हो ।

आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ ।

देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।