ताप्लेजुङ, माघ २३ :

ताप्लेजुङको पाथिभरा क्षेत्रमा  केबलकार निर्माणविरुद्ध आन्दोलनरत समूहको बन्दका पूर्वका ९ जिल्लाको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । 

‘नो केबलकार’ समूहलगायत विभिन्न संगठनहरूले आह्वान गरेको कोशी प्रदेशका ९ जिल्लामा यातायात बन्दका कारण पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको हो ।

विगत केही दिनदेखिको बन्दका कारण पूर्वी पहाडको जनजीवन अस्तव्यस्त बन्दै गएको छ।मेची राजमार्गलगायत पहाड जोड्ने अन्य राजमार्गहरूमा यातायातका साधन चलेका छैनन् ।

बन्दकर्ताहरूले  राति मेची राजमार्ग अन्तरगत पॉचथरको जोरपोखरी –गोपेटार खण्डमा रुख ढालेर  सडक अवरुद्ध गरेका छन् । जसका कारण विरामी लिएर आएका एम्बुलेन्सलाई समेत अठ्यारो परेको छ ।चारवटा रुख ढालेर बाटो अवरुद्ध गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ ।

यसैबीच, सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ । सोमबारको वार्ता सकारात्मक भए पनि विनानिष्कर्ष टुंगिएको थियो।

आन्दोलनरत पक्षले केबलकार निर्माणको सबै प्रक्रिया खारेजी र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग अघि सारेका छन् ।