
साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनाको अभियोगमा रास्वपा सभापति रवि लामिछानेको जिल्ला अदालत चितवनमामा बयान सुरु भएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भएको हो । बयान सकिएसँगै थुनछेक बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।
सरकारी वकिल कार्यालयले मङ्गलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतमा मुद्दा दर्ता भएसँगै लामिछाने बिहान १० बजे नै अदालत उपस्थित भएका थिए ।
प्रतिवादीहरुमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका पनि छन् ।
यसअघि असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार १७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिए ।