काठमाडौं, माघ २४ :

नेप्सेमा पुन: गिरावट आएको छ । अघिल्लो दिन १४ दशमलव शून्य आठ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) पनि चार दशमलव ४५ अंकले घटेर २७ सय ११ दशमलव ४५ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शून्य सात अंकले घटेर चार सय ५६ दशमलव शून्य चार अंकमा झरेको छ । नेप्सेमा आज ३०९ वटा कम्पनीको ९० हजार सात सय ५२ पटकको कारोबारमा एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता सेयर खरिद-बिक्री भएको छ । जसमा कुल कारोबार रकम आठ अर्ब ९५ करोड ८० लाख सात हजार तीन सय पाँच रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँच समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक एक सय ४३ दशमलव ८९ अंकले बढेर २६ सय ७९ दशमलव ९५ अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि एक दशमलव ६१ अंकले बढेर तीन हजार आठ सय ३८ दशमलव १३ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि २५ दशमलव ३३ अंकले बढेर १३ हजार एक सय ८० दशमलव ७७ अंकमा चढेको छ । यीबाहेक सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव १८ र छ दशमलव शून्य पाँच अंकले बढेका छन् ।

वाणिज्य बैंक समूहको सूचक भने आज तीन दशमलव ६५ अंकले घटेर १३ सय ६३ दशमलव ८९ अंकमा झरेकामा विकास बैंक समूहको सूचक ५३ दशमलव ६४ अंकले घटेर पाँच हजार आठ सय १४ दशमलव ९९ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक ४१ दशमलव ८४ अंकले घटेर १३ हजार एक सय ८७ दशमलव ३६ अंकमा झरेकामा होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमश: ३३ दशमलव शून्य नौ, शून्य दशमलव २६, ५९ दशमलव ४४, १३ दशमलव ७६ र ६२ दशमलव ९२ अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा परेको छ ।