
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
प्रतिवादीमध्ये जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति रहेका समेत खुलेको छ । मुलकी फौजदारी अपराध संहिताको दफा १८३ मा ज्यान मार्ने उद्योगको कसुर गर्नेलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।प्रहरी वृत्त सिंहदरबारको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षका तर्फबाट बहस गरेर फर्किने क्रममा अदालत परिसरमा हातपात भएको थियो ।