काठमाडौं, माघ २४ :

जनता समाजवादी पार्टी (जसपा) नेपालले गठन गरेको अध्यादेश अध्ययन कार्यदलले आज (बिहीबार) पार्टीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

पार्टी उपाध्यक्ष राजकिशोर यादव संयोजक रहेको कार्यदललले बुधबार अर्थसम्बन्धी अध्यादेशहरुबारे विज्ञसँग छलफल गरेसँगै प्रतिवेदन बुझाउने तयारी गरेको हो । अध्यादेशको विषयवस्तु अध्ययन गरेर स्वीकृत वा अस्वीकृत गर्नेबारे सुझावसहित पार्टीलाई प्रतिवेदन बुझाउने संयोजक यादवले बताए ।

उनका अनुसार अध्यादेश अध्ययन प्रतिवेदन बिहीबार पार्टीलाई बुझाइनेछ । कार्यदलको प्रतिवेदनका आधरमा पार्टीले निर्णय गर्ने यादवले बताए ।

अध्यादेशका विषयवस्तुहरु सकारात्मक भए पनि अध्यादेशबाट राज्य चलाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ । उनले केही अध्यादेशलाई पार्टीले सकारात्मक रुपमा लिए पनि केही अध्यादेशहरुप्रति गम्भीर आपत्ति रहेको बताए ।

सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौं (राजकिशोर यादवसँगको अन्तर्वार्ता) 

‘अहिलेसम्मको छलफल हेर्दा हामीले अध्यादेशलाई प्रक्रियाको हिसाबमा यसलाई राम्रो मान्दैनौं । यदि विधेयकका रुपमा ल्याउन पाए जनप्रतिनिधिले ओनरसिप लिन पाउँथे ।  तर सरकारले अति आवश्यक देखेको हुनाले अध्यादेशबाट ल्याएको हो । त्यसकारण सरकारलाई सचेत गराउन र अध्यादेशबाट राज्य सञ्चालन गर्नु राम्रो परिपाटी हो,’ उनले भने, ‘अध्यादेशको कन्टेन्टका आधारमा प्रतिवेदन तयार गर्नुपर्ने भएको कारण केही समय थप लाग्ने स्थिति छ । हामी आज त्यो प्रतिवेदन पार्टीलाई बुझाउँछौं र एउटा निर्णयमा पुग्छौं । केही अध्यादेश हामीले सकारात्मक रुपमा लिएका छौं भने केही अध्यादेशमा हाम्रो गम्भीर आपत्ति छ ।’

देश अध्यादेशबाट चल्न नहुनेमा पनि उनको जोड छ ।