
प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध गरेको छ ।
संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशहरूमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ ।
ट्रम्पले ह्वाइट हाउसमा वार्ताका लागि आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।
बीस लाखभन्दा बढी प्यालेस्टिनीलाई कसरी बाहिर निकाल्ने वा गाजालाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा विवरण नभएको प्रस्तावमा, ट्रम्पले नफुटेका बम र भग्नावशेष हटाएर र आर्थिक पुनर्विकास गरेर युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई ‘अविश्वसनीय’ बनाउने बताएका छन् ।
“अमेरिकाले गाजा पट्टी नियन्त्रणमा लिनेछ र हामी यससँग काम पनि गर्नेछौँ, हामी यसको स्वामित्व लिनेछौँ”, ट्रम्पले भनेका छन् ।
उनले इजिप्ट र जोर्डन दुवै सरकारले यो विचारलाई स्पष्ट रूपमा अस्वीकार गरे पनि मध्यपूर्वमा ‘सर्वोच्च नेतृत्व’ बाट समर्थन भएको र ती दुई मुलुकलाई गाजावासीहरूलाई लिन दबाब बढाएको बताए ।
सन् २००७ मा गाजाको एकल नियन्त्रण कब्जा गर्ने हमासले उक्त प्रस्तावलाई अस्वीकार गर्दै यसलाई ‘जातीय’ विचार भनेको छ ।
“अमेरिकी जातीय दृष्टिकोण हाम्रा मानिसहरूलाई विस्थापित गर्ने र हाम्रो मुद्दालाई समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ”, हमास प्रवक्ता अब्देल लतिफ अल- कानोउले एक वक्तव्यमा भनेका छन् ।
गाजाको धेरै भाग हमासको सन् २०२३ अक्टोबरको इजरायलमाथिको आक्रमणले प्रेरित १५ महिने युद्धमा तहसनहस भएको थियो र ट्रम्पले गत महिना लागू भएको युद्धविराम सम्झौता गर्न श्रेय लिएका थिए ।
हमासले लिएका बन्धकहरूलाई घर ल्याउने र यसको क्षमतालाई कुल्चिने प्रतिज्ञा गरेका नेतन्याहुले ट्रम्पको योजनाले ‘इतिहास परिवर्तन’ गर्न सक्ने र ‘ध्यान दिन लायक’ भएको बताए ।
नेतन्याहु ट्रम्पको सत्तामा फर्केपछि ह्वाइट हाउसमा भ्रमण गर्ने पहिलो विदेशी नेता थिए, जसलाई युद्धविरामको दोस्रो चरण सुरक्षित गर्ने वार्ताको रूपमा प्रस्तुत गरिएको थियो ।
गाजा भ्रमणको पनि कुरा गरेका ट्रम्पले प्यालेस्टिनीहरूका लागि पुनर्निर्माण नगरिने सङ्केत गरे ।
“यो त्यही मानिसहरूद्वारा पुनर्निर्माण र कब्जाको प्रक्रियाबाट जानु हुँदैन जो... त्यहाँ बसेका छन् र त्यहाँ दयनीय जीवन बिताएका छन्”, उनले भने ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि प्रस्तावलाई अस्वीकार गरेका छन् ।
“राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी नेतृत्वले गाजा पट्टी कब्जा गर्न र प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमि बाहिर विस्थापित गर्ने आह्वानलाई कडा अस्वीकृति व्यक्त गरे”, अब्बासको कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “वैध प्यालेस्टिनी अधिकारहरू वार्ताको योग्य छैनन् ।”
गाजाका प्यालेस्टिनीहरूले पनि ट्रम्पको पुनर्वास विचारको विरोध गरेका छन् ।
विगतमा दुवैको तनावपूर्ण सम्बन्ध थियो तर पूर्व राष्ट्रपति जो बाइडेनसँगको सम्बन्ध गाजामा मृत्युको सङ्ख्यालाई लिएर तनावपूर्ण भएपछि नेतन्याहुले रिपब्लिकनको सत्तामा फर्कने कुरालाई स्वीकार गरेका छन् ।
चीन, इजिप्ट, जोर्डन र युद्धविराम मध्यस्थकर्ता कतार सबैले गाजाबाट प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको सुझावलाई अस्वीकार गरेका छन् ।
गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो । उक्त आक्रमणमा इजरायली आधिकारिक आँकडाका आधारमा एएफपीको गणना अनुसार अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १० जनाको मृत्यु भएको थियो ।
इजरायलको जवाफी कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अधिकांश नागरिकसहित कम्तीमा ४७ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडाहरूलाई विश्वसनीय मान्दै आएको छ । - रासस / एएफपी