वीरगञ्ज, माघ २५ :

राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदाबी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए । 

‘‘कार्यालयले चालु आवको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावट मुद्दा मागदाबी रकमसहित आठ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको उनले बताए । गत आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।

कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख सङ्कलन गरेको छ । जबकी गत आवको छ महिनाको अवधिमा भने एक करोड ५२ लाख धरौटी दाखिला गरेको थियो ।