
सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ ।
नयाँ बानेश्वरमा बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले बैठक कांग्रेसका सम्पूर्ण सांसदलाई संसद् र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन निर्देशन दिएको बताए ।
राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसद्मा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।
विचाराधीन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेसका सम्पूर्ण सांसदहरुलाई निर्देशन गरेको छ ।
‘आज अध्यादेशहरु सबै पेस हुन्छ र यसमा ५१ वटा अस्वीकारका सूचना परेका छन् । यो सबैमाथि छलफल हुन्छ । अस्वीकारका सूचना अस्वीकार गरिनेछ । अध्यादेश पास हुनेछ । प्रतिनिधि सभामा केही समस्या छैन, राष्ट्रिय सभामा समस्या हो, त्यो मिलिसक्यो, जसपाले समर्थन गर्दछ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई हिजो पनि भोट हालेको हो । उहाँहरुबाट पूर्ण रुपमा सहयोग हुनेछ । उहाँहरु समर्थन गर्ने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’
अध्यादेश संसद्बाट पारित गर्न प्रतिनिधिसभामा सहज भए पनि राष्ट्रिय सभामा केही सदस्यको कमी हुने भएकाले जनता समाजवादी पार्टी, नेपालले सहयोग गर्ने सहमति बनिसकेको बताए । उनले जसपाले समर्थन गरेसँगै आजै अध्यादेश पारित हुने दाबी पनि गरे ।