
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट परिवर्तनको लडाइँ सुरु भएकाले पूरा गरेरै छोड्ने बताएका छन् ।
चितवन जिल्ला अदालतले ५४ लाख धरौटीमा रिहा गरेसँगै बिहीबार अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए ।
उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देवता जस्तै रहेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभरै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्वन गरिएकोप्रति आपत्ति जनाए ।
‘प्रतिक्रिया दिने बेला त भएको होइन, तर मेरो निर्वाचन क्षेत्र चितवन भएकाले चितवनले मेरो न्यायका लागि लामो समयदेखि प्रयास गर्नुभएको छ । चितवन देवभूमि हो, सबैलाई थाहा छ । देवताको बास भएको ठाउँ हो । यहाँ देवताजस्ता मान्छे बस्नुहुन्छ । त्यसकारणले मलाई यहाँबाट न्याय नहुने भन्ने कुनै प्रश्न नै छैन । म पूर्ण रुपमा विश्वस्त नै छु,’ उनले भने, ‘चितवनवासीले दुई-दुईपटक निर्वाचित गरेर मलाई पठाइसक्दा जालझेल पूर्ण ढंगले सांसद पदलाई निलम्बन गरिएको छ । म चितवनवासी मतदातालाई के भन्न चाहन्छु भने यो प्रश्रव पीडा हो । चितवनले परिवर्तन जन्माउन खोजेको छ । त्यसको संकेत दिएको छ । मुलुककै परिवर्तन जन्माउन तत्पर रहेको चितवनले धेरै काम गरेको छ । परिवर्तनको जन्म भएरै छोड्छ । चितवनले सुरु गरेको परिवर्तन पूरा हुन्छ । यसमा कोही रुनु पर्दैन ।’
उनले परिवर्तनको लडाइँ अझै बाँकी रहेको पनि बताए ।
यो पनि…
सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग