
बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी पोखरा पुगेका छन् ।
उनीहरूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गरे।
अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताए ।
पोखरा भ्रमणका क्रममा उनीहरूले पर्यटकीय गन्तव्यको अवलोकन गर्ने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
त्यसअघि आज बिहान गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्दै सो क्षेत्रको अवलोकन गरेका थिए ।
उनीहरूले उद्यानको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’ को बिरुवा रोप्दै केही समय अवलोकन गरेका हुन् । अधिराजकुमारी डचेस सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लाली गुँरास’ को बिरुवा रोपिन् । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही क्षेत्रमा ‘पुँवाले’ का दुई बिरुवा रोपेका थिए ।
उनीहरूले बेलायतको सहयोगमा स्थापना गरिएको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बोरियन, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गरेका थिए ।