सिन्धुली, माघ २६ :

झापाबाट काठमाडौँ आउँदै गरेको निजी ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । 

विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका- ५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

मोरङको लेटाङ नगरपालिका- २ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । 

इलाम देउमाई नगरपालिका- ८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका- ५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका- १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।