काठमाडौं, माघ २६ :

कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १०औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १०औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेगरी आवश्यक काम सुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिए । त्यसका लागि द्रुत स्तरमा काम गर्न आग्रह पनि गरे ।

‘हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद गर्न कसरी फास्टट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ । यसका फास्टट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् । अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्नेगरी काम गर्नुपर्छ । तोकिएकै समयमा १०औं राष्ट्रिय खेलकुद गर्न फास्टट्रयाकमा जानुहोला । कसरी हुन्छ त्यो व्यवस्था मिलाउनुस्,’ सभापति थापाले भने ।

गत मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा १०औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधारहरु निर्माण गर्न नसक्दा सरकारले चैत २३ गतेबाट गर्ने घोषणा गरिएको थियो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १०औं राष्ट्रिय खेलकुद कर्णालीले गर्नेगरी झन्डा हस्तान्तरण गरिएको थियो ।