
माघ २ गते जैशीसहित रास्वपाका कार्यकर्ताले दुर्व्यवहारका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी (सेतो सर्टमा) ।
राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैशी एक लाख रुपैयाँ धरौटी बुझाउन सकेका छैनन् । अदालतले मागेको एक लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछी उनी कारागार चलान भएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगमा तीनै जनासँग एक लाख रुपैयाँका दरले धरौटी मागेको थियो ।
दुईजना धरौटी बुझाएर रिहा भए पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय जैशीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल चलान गरिएको हो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ५, टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका ४ घर भई काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईले धरौटी बुझाएर छुटेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेका त्रिपाठीलाई माघ २ गते अदालतबाहिर कुटपिट गरिएको थियो ।
त्रिपाठीमाथि कुटपिट भएकै दिन रवि भने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । रविले सहकारी ठगीका चारवटा मुद्दामा पोखरा, काठमाडौं, रुपन्देही र चितवनमा गरी दुई करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । तर उनकै बचाउनमा उत्रिएका कार्यकर्ता जैशी भने १ लाख रुपैयाँसमेत धरौटी बुझाउन नसक्दा जेल चलान भए ।
