
देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए ।
घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुल आयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् ।
यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधि लगायतको प्रतिनिधित्व रहेको छ ।
भ्रमण वर्ष सफल बनाउनका लागि विभिन्न देशका राजदुतसमेतको सहभागिता रहने आचार्यले बताए ।
भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने तयारी गरिएको छ ।