काठमाडौँ, माघ २७ :

राष्ट्रिय गौरवको काठमाडौँ- तराई- मधेस द्रुतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने भएको छ ।

खोकनाको समस्याका कारण द्रुतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच किमीसम्मको खरिद तथा निर्माण सुरु हुन सकेको छैन ।

रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री मानवीर राईले द्रुतमार्गको प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबैसँग समन्वय गरी लक्ष्यअनुसार प्रगति हासिल गर्न निर्देशन दिएका हुन् ।

उक्त समस्या समाधानका लागि रक्षामन्त्रीको संयोजकत्वमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान समिति तथा अन्य उपसमिति गठन गरी कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्चाधिकारीको सहभागितामा खोकनाको समस्या तथा आयोजनाको प्रगतिबारे छलफल गरेका थिए ।

मन्त्री राईले आफूसहितको टोलीले गत पुस २२ गते खोकना- बुङ्मती इलाकाको स्थलगत अनुगमन गरेको जानकारी गराउँदै खोकनाको समस्या समाधान गर्न विभिन्न विकल्प निकाल्ने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गरे । उनले यसबाहेक अन्य सडक आयोजना निर्माण, सैनिक सामग्री खरिद, चुरे संरक्षण, विपद् उद्दारलगायत कार्यमा लक्ष्यअनुसार प्रगति भएको जनाए ।