
फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्था गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो ।
स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गरिने राईको भनाइ छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थान गर्न लागिएको हो ।
यसका लागि कामपाले उत्पादकलाई फोहर व्यवस्थापनको जिम्मा लगाउने गरेको छ । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।
हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहर वर्गीकरण भइरहेको छ । अब छिट्टै अन्य वडामा पनि फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ ।
स्रोतमा उत्पादित फोहरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायक मार्फत व्यवस्थापन गरिनेछ । यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो ।