
कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान जारी छ ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरुको निर्वाचन मण्डलबाट सात प्रदेशबाट एक- एक जना पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि सर्वोच्च अदालत परिसरमा मतदान सुरु भएको हो ।
बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले मतदान सुरू भएको र ४ बजेसम्म सञ्चालन हुने बताए । सातै प्रदेशमा बिहान १० बजे सुरु भएर ४ बजेसम्म मतदान हुनेछ ।
परिषद्को पार्षद् छान्न देशभर ११ हजार मतदाता छन् । बागमती प्रदेशमा मात्रै आठ हजार दुई सय मतदाता छन् । परिषद्बाट हालसम्म ३१औँ परीक्षाबाट पास भएका सम्पूर्ण कानुन व्यवसायीले मतदान गर्न पाउनेछन् ।
परिषद्को बागमती प्रदेशको पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।
महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् ।
यसअघि बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।