नवलपरासी, माघ २७ :

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गरेका छन् ।

आज बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका- १५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले यस्तो आग्रह गरेका हुन् ।

केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष आम्दानी होस् भन्ने आसमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा धेरै समस्या सृजना हुने गरेको मन्त्री अधिकारीले बताए । विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।

कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए । कृषकले केही आम्दानी हुने आसमा गरेको खेतीबाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको दाबी छ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । 

परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ ।